काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल चौथाे अभ्यास खेलमा पराजित भएको छ। अघिल्ला तीन खेलमा लगातार जित निकालेकाे नेपाल चौथाे खेलमा भारतको सेन्टर फर स्पोर्टस् साइन्स (सिएसएस) सँग ५ रनले पराजित भयो।
सिएसएसले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा २ सय १० रनमा अलआउट भयो। नेपालका लागि सागर पुनले ६९ रन जोडेपनि पर्याप्त हुन सकेन। सागरले ८४ बलको सामना गर्दा ७ चौका र २ छक्का हिर्काए। खेलमा नियमित ओपनर ज्ञानेन्द्र मल्ललाई भने आराम दिइएको थियो। त्यसअघि ओपनिङमा आएका कप्तान पारस खड्काले आक्रमक ब्याटिङ गरे। पारसले ४० बलमा ४९ रन जोडे। पारसले ८ चौका र १ छक्का प्रहार गरे। ८४ रनमा पारस पहिलो विकेटको रुपमा आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो।
आरिफ शेख १३ बलमा ७ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ५४ बल खेलेर ४५ रनको योगदान गरे। उनले ६ चौका हिर्काए। विनोद भन्डारी ७ बलमा १५ रन जोडेर आउट भए। उनले समान १–१ चौका र छक्का हिर्काए। सोमपाल कामी ५ रनमा आउट भए। करण केसी ३ तथा बसन्त रेग्मी शून्य रनमा अलआउट भए। सन्दीप लामिछाने ४ रनमा आउट भए।
बलिङतर्फ सिएसएसका अरुण बालाजीले ५ विकेट लिए।
त्यसअघि चेन्नइको श्री रामचन्द्र मेडिकल कलेजको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिएसएसले ५० ओभरमा २ सय १५ रनमा अलआउट भयो। सिएसएसका लागि विलिङ्ग्स भिक्टरले ७४ रन बटुले। आठौं नम्बरका ब्याट्सम्यान भिक्टरले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे। त्यअघि ओपनर अनन्तले सुशस भारीबाट बोल्ड हुनुअघि ४५ रन जोडे। उनले ७२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ स्पिनर सुसन भारीले ३ विकेट लिए। तीब्र गतिका बलर करण केसी र युवा स्पिनर सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। सागर पुन र सोमपाल कामीले १–१ विकेट आ–आफ्नो नाममा लेखाए।
यसअघि नेपालले लगातार तीन खेलमा जित निकालेको थियो। नेपालले पहिलो अभ्यास खेलमा तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रन, दोस्रो खेलमा मेलापुर रिक्रिएसन क्लबलाई ५२ रन र तेस्रो खेलमा तमिलनाडु 'ए' टिमलाई १ सय ४७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालको ओपनर ज्ञानेन्द्र मल्ल तथा तेस्रो खेलमा शरद भेषावकरले सतक प्रहार गरेका थिए।
नेपाली डब्लुसिएलच्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध खेलको तयारीका भारत भ्रमणमा गएको हो। नेपाली टिम दशैंको फूलपातीमा नेपाल फर्कनेछ। दशैंपछि १० दिन अभ्यास गरेपछि नेपाली टिम हङकङ प्रस्थान गर्नेछ।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ। डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।