काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनप्रति कटाक्ष गरेका छन्।
'अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो', सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्।
उनले प्रस्तावलाई लाञ्छनापत्र भन्दै त्यसमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताएका छन्।
'पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो', थापाको भनाइ छ, 'यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।'
त्यस्तै, नेकपा नेता तथा मन्त्री वर्षमान पुन 'अनन्त'ले पार्टीमा हुने अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्न नहुने बताएका छन्।
पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको भन्दै अनन्तले पार्टी भनेको जमेको पोखरी जस्तो नभइ हिमालबाट बग्ने तीव्र बेगको नदि जस्तो भएको बताएका छन्।
'पार्टीमा हुने छलफल, बहस, अन्तविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन', शनिबार फेसबुकमा उनले लेखेका छन्।
उनले पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरुमा अनुरोध गरेका छन्।
शनिबारै बिहान नेता शंकर पोखरेल तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको लेखेका थिए।
'म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु', पोखरेलले फेसबुकमा लेखेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।