काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विभिन्न आरोप लगाउँदै पत्र लेखेका छन्। कात्तिक २२ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमा भेटेर सचिवालय बैठकका लागि सहमति जनाउन भन्दै दुई पाने पत्र बुझाएका थिए। ओलीले त्यसैको प्रतिवाद स्वरुप पाँच पाने पत्र लेखेका हुन्।
पाँच सचिवालय सदस्यले लेखेको पत्रमा ओलीले स्थायी कमिटीको निर्णय नमानेको, कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको, रअ प्रमुखलाई भेटेको लगायतका विषय समेटेर उनको आलोचना गरिएको थियो।
बिहीबार ओलीले लेखेको पत्रमा प्रचण्डलाई गुटबन्दी गर्दै हिँडेको, गुटको बैठकबाटै एजेन्डा तय गर्ने गरेको, स्थायी कमिटीले दिएको जिम्मेवारी पूरा नगरेको, सरकारमाथि आक्रमण गर्ने गरेको लगायतका आरोप लगाइएको सचिवालय सदस्यले बताए।
ओलीले प्रचण्डलाई सम्बोधन गरेर लेखेको पत्रमा खनाल, नेपाल, गौतम र श्रेष्ठलाई बोधार्थ दिइएको छ।
यसैबीच शुक्रबार अपराह्न ४ बजे पार्टी सचिवालयको बैठक बस्दैछ। बैठकको एजेन्डा तय नभए पनि पाँच सदस्यले पत्रमा उल्लेख गरेकै विषयमा छलफल हुने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।