काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबारको सचिवालय बैठक औपचारिक भएको बताएका छन्। औपचारिक सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुने उनले दाबी गरे।
‘पार्टीका दुई अध्यक्षकै सल्लाहमा शुक्रबार ४ बजे औपचारिक सचिवालय बैठक बोलाइएको छ,’ खनालले भने, ‘सचिवालय बैठकमा प्रधानमन्त्रीज्यू पनि उपस्थित हुनुहुनेछ। त्यहाँ सबै सचिवालय सदस्य उपस्थित भई छलफल गर्छौं।’
यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यले बैठक बोलाउन बारम्बार आह्वान गरेका थिए। तर, ओलीले सचिवालय बैठक बोलाउन आकाकानी गरेपछि २ पटक बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो। गत कात्तिक १४ गते र १८ गते २ पटक बसेको बैठकले ओलीलाई अल्टिमेटम दिएर बैठक राख्न दबाब दिएको थियो । तर, यसपटक ओली बिहीबार दिइएको अल्टिमेटमलाई एक दिन पर धकेलेर शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका छन्।
सचिवालय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव, मन्त्रिपरिषद पुनर्गठन, पर्साका मुकेश चौरसिया हत्या र प्रधानमन्त्रीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयमा छलफल हुने बुझिएको छ। यी सबै विषयलाई लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यवीच विवाद चर्किएको हो। यी विषयमा बैठकमा दुवै पक्षले आ–आफ्ना धारणा राख्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।