काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्। गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवादजस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने उनले उल्लेख गरे।
'नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन,' पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन समेत मन्त्री भट्टराईले आग्रह गरे। नेताहरुले आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनको छ। पार्टीमा एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई उनको आग्रह छ।
मापसे परीक्षण यन्त्र पठाइने
मन्त्री भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादक पदार्थ सेवन जाँच यन्त्र खरिद गरेर पठाइने बताए। मैवाखोला गाउँपालिकामा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टराईले शिक्षक नियमित रुपमा विद्यालय नआउने र आए पनि समयमै नआउने तथा मापसे गरेर आउने गुनासो आएको बताउँदै भने, 'यदि मापसे परीक्षण गर्ने उपकरण भए विद्यालय सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेशिन खरीद गरेर पठाइदिन्छु।'
मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह छ।
मन्त्री भट्टराईले सबै वडामा दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन पुर्याइने प्रतिबद्धतासमेत जाहेर गरे। प्रत्येक गाउँपालिकामा एउटा खेल मैदान निर्माणका लागि जग्गा तयार गरिएमा बजेटको आवश्यक पहल गरिने आश्वासन दिएका थिए। मन्त्री भट्टराई गत शनिबारदेखि पालिकास्तरीय कार्यक्रम लिएर गृहजिल्ला ताप्लेजुङ भ्रमणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।