काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट भइरहेको छ।
भेटका लागि प्रचण्ड केही बेरअघि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
ओलीसँगको संवादका लागि मंगलबार बिहान शंकर पोखरेलले प्रचण्डलाई आग्रह गरेका थिए। पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने पोखरेलको भनाइ थियो। 'दुई अध्यक्ष बसेर छलफल गर्दा समस्या समाधान हुन्छ', पोखरेलको आग्रह थियो, 'त्यसैले तपाईंले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्यो।'
दिउँसो ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको बैठक बस्दै छ। गत शनिबार अनौपचारिक बैठक बसेका प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको बैठक पनि बस्ने बताइएको छ।
प्रधानमन्त्रीलाई सचिवालय बैठक बोलाउन दिइएको समयसीमा सकिनै लाग्दा बहुमत सदस्यको बैठक बस्न लागेको हो। बैठकको निष्कर्षको आधारमा कार्यकारी अधिकार प्राप्त अध्यक्ष प्रचण्डले सचिवालयको बैठकको मिति तोक्न सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।