फाइल फोटो
काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री तथा केपी ओली निकट नेता शंकर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। भेटका लागि पोखरेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।
दुई नेताबीच करिब एक घण्टा छलफल भएको छ। भेटमा पोखरेलले ओलीसँग संवाद कायम राख्न प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने स्मरण गराएका थिए। 'दुई अध्यक्ष बसेर छलफल गर्दा समस्या समाधान हुन्छ', पोखरेलको आग्रह थियो, 'त्यसैले तपाईंले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्यो।'
प्रचण्डले भने संवादका लागि रुची व्यक्त गरेका थिएनन्। उनले ओली पक्षले आफ्नो गुटको भेला गरेको र विधानमै नभएको जबजलाई बहसमा ल्याएको लगायतको कारण देखाउँदै यस्तो अवस्थाका बीच संवादको अर्थ नहुने प्रष्ट पारेका थिए।
प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले आइतबार ओलीलाई भेटेर बैठकका लागि सहमति दिन आग्रह गरेका थिए। तर ओलीले भने १५ दिनभित्र बैठक राख्ने तयारी गर्न महासचिव विष्णु पौडेललाई निर्देशन दिएका थिए। सोही सन्देश लिएर सोमबार पौडेल प्रचण्ड निवास पुगेका थिए।
तर आइतबार बालुवाटारको भेटमा बैठक बोलाउनका लागि दुई दिनको समय दिएका बहुमत सचिवालय सदस्यले थप निर्णयका लागि आजसम्म पर्खिएका छन्। ओलीले आज पनि बैठक नबोलाए आफैंले बैठक बोलाउने प्रचण्डको तयारी छ। यसअघि गत शनिबार बहुमत पक्षको अनौपचारिक बैठक बसेको थियो। औपचारिक बैठक बसे त्यो नै पार्टी फुटको बिन्दु हुने ओलीको चेतावनीपछि अनौपचारिक बैठक बोलाइएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए।
आजको भेटमा प्रचण्डले बोलाउने भनेको बैठकबारे पनि पोखरेलले जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।