काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले संसदबाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ।
यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले कानुनको अनुभूति गर्न पाउने बताए।
उनले अहिलेसम्म ९ हजार ६ सय ८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिँदै अवकाश रोज्ने कर्मचारीहरुले अब काममा फर्किने अवस्था नरहेको प्रष्ट पारे। पोखरेलले ऐन को प्रावधानबमोजिम स्वेच्छिक अवकाशको विधिसम्मत योजनालाई तत्काल कार्यान्वयन गर्न र कर्मचारी समायोजन प्रक्रियालाई शीघ्र अगाडि बढाउन माग गरे।
समायोजन ऐन २०७४ को दफा १३ मा ‘यस ऐनबमोजिम संघ, प्रदेश वा स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएको र निवृत्तिभरण पाउने अवस्था भएको कुनै कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्त बमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।