चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन्।
प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको बताए। एक्लै निर्वाचन जित्न सक्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, 'सम्भावना छ भन्ने विश्वासमा छु।' सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ।
यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए। 'तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन,' उनले भने, 'कांग्रेस र एमालेसँग तालमेलका विषयमा छलफल चलिरहेको छ।'
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने भनाइ राखे।
असोज तेस्रो साता माडी जाने योजनामा आफू रहेको उनले बताए। बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।