काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक ऊर्जा प्रदान गरेको सुरक्षाविज्ञ डा उमेश भट्टराईले बताएका छन्। दुई देशबीच संवादहीनताको अवस्थामा रहेको कूटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षाविज्ञ भट्टराईले बताएका हुन्।
शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सुरक्षाविज्ञ भट्टराईले नरवणेको भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई केही हदसम्म भएपनि गतिशील बनाउने विश्वास जगाएको उल्लेख गरे। सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भएपनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कूटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।
‘मुख्य गरेर संवादहिनताको अवस्थामा रहेको हाम्रो कूटनीतिलाई यसले केही हदसम्म अवस्थालाई चिर्नेकाम गर्छकी भन्ने हाम्रो अनुमान र विश्वास जगाउँछ नै। किनभने जुन किसिमले प्रधानमन्त्रीले पनि हिजो वार्ता गर्दाखेरी कुरा गर्नुभयो। हाम्रो सम्बन्ध इतिहासदेखिको भिन्दै किसिमको हो। एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशको बीचको सम्बन्धलाई बढाउन चाहन्छौँ। यसमा एकवर्षदेखि रोकिएको प्रकृया छ,' उनले थपे, 'त्यो कूटनीकिक पहलबाट यसको सुरुवात होस भन्ने किसिमको सन्देश दिनु भएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई। त्यसले सकारात्मक भूमिका नै खेल्छ भन्ने लाग्छ।’
दुई देशबीचको सेनाको सम्बन्ध बेलायती सेना रहँदादेखिकै भएकोले पनि सैन्य कूटनीतिलाई भिन्न किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ। कूटनीति सैन्य भएपनि वा गैरसैन्य भएपनि अन्ततोगत्वा मुलुुकलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ।
‘सेनाको सम्बन्धको कुरा बेलायती सेनाको बेलादेखिकै निरन्तरता हो। यसमा भिन्दै किसिमले कूटनीति, सैन्य कूटनीतिको व्याख्या कतिपयले गरेको मैले पनि सुनेको छु। तर यो होइन। कूटनीति भनेको कूटनीति नै हो। त्यो सैन्य होस वा गैरसैनिक होस्,' उनले भने, 'त्यसले अन्ततोगत्वा मुलुकलाई एक किसिमको निकास दिनको निम्ति मद्दत गर्ने हो। त्यो हिसाबले हेर्यो भने सैन्य कूटनीतिलाई छुट्टै मान्नु आवश्यक छैन।’
इतिहासदेखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कूटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले उल्लेख गरे। स्वतन्त्र मुलुकको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कूटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।