काठमाडौं– बाग्लुङ जिल्लाको एउटा विद्यालयमा प्रधानाध्यापक को हुने भन्ने विवाद सर्वोच्च अदालत पुगेको छ।
बाग्लुङको वुर्तिबाङ उत्तर गंगा माविको प्रधानाध्यापक को हुने भन्ने विषयमा ढोरपाटन नगरपालिका र विद्यालय व्यवस्थापन समितिबीचको विवाद सर्वोच्च अदालत आइपुगेको हो।
विद्यालयमा प्रअ बनाउने अधिकार विद्यालय व्यवस्थापन समितिको हुने भए पनि नगर कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै व्यवस्थापन समितिका तर्फबाट प्रअ नियुक्ति विवाद सर्वोच्च पुर्याइएको हो।
विद्यालयमा प्रधनाध्यापक नियुक्तिमा लामो समयदेखिको राजनीतिक खिचातानीले विद्यार्थीको पठनपाठनमा असर पर्दै आएको दाबी गर्दै नगरले चैत ४ मा वरिष्ठ शिक्षकलाई जिम्मेवारी दिएको थियो।
प्रधानाध्यापक धनबहादुर कुवँरले पदबाट अवकाश पाएपछि विवाद सुरु भएको हो। कुँवर पनि सर्वोच्चकै आदेशमा प्रअ भएका थिए। विद्यालय व्यवस्थापन समितिले नियुक्त नगरे पनि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनको पक्षमा आदेश गरेपछि उनी प्रअ भएका थिए। कुँवरले अवकाश पाएलगत्तै यो विवाद पुनः बल्झिएको हो।
विद्यालयमा प्रअ नभएपछि पठनपाठनमा अवारोध भएको भन्दै नगरपालिकाले हस्तक्षेप गरेको थियो। नगरकार्यपालिकाको बैठकले वरिष्ठतम् सूचिमा रहेका शिक्षक ईश्वरीप्रसाद पौडेललाई प्रधानाध्यापकमा सिफारिस गर्ने निर्णय गरेको थियो। नगरपालिकाले उनलाई प्रअको जिम्मेवारी सम्हाल्नु भन्दै पत्र समेत दिएको थियो।
नगरको उक्त निर्णय विरुद्ध विद्यालय व्यवस्थापन समितिका तर्फबाट चुँडाबहादुर कुँवरले सर्वोच्च गुहारेका हुन्।
विद्यालयमा लामो समयदेखिको प्रअ विवादले गर्दा शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर वृद्धि हुन नसकिरहेको तथा विद्यालयप्रति नरारात्मक सन्देश गइरहेको भन्दै नगरपालिका प्रमुख देवकुमार नेपालीको सक्रियतामा पौडेललाई प्रअ बनाइएको थियो।
तर, विद्यालय व्यवस्थापनले प्रअ छान्नुपर्नेमा कानुनी अधिकार नै नभएको निकायले प्रअ बनाएको दाबी गर्दै कुँवर वैशाख १६ मा सर्वाेच्च पुगेका हुन्। उनको रिटमा सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले स्थानीय निकायले कानुनको अधिकार नभएको अवस्थामा प्रअ नियुक्तको निर्णय गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ।
स्थानीय तहमा शिक्षक नियुक्त गर्ने वा प्रअ नियुक्त गर्ने सम्बन्धी कानुन हालम्म निर्माण नभएकाले शिक्षा ऐन अनुसार प्रअ बनाउने कुरा विद्यालय व्यवस्थापनको हुने सर्वोच्च्को अन्तरिम आदेशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।