चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भीरमा रहेका बस्तीलाई उपयुक्त ठाउँमा सार्ने बताएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई चितवनको रामपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भीरमा बस्नु हुँदैन, हामी उपयुक्त ठाउँमा बस्ती सार्छौं। घर, विद्यालय, स्वास्थ्यचौकी, बिजुली, खानेपानी आदि प्रबन्ध गर्छौं।’
प्रधानमन्त्री ओलीले अनुपयुक्त ठाउँ र डाँडाकाँडामा छहरिएका बस्तीको व्यवस्थापन गर्ने बताउँदै भीरमा बस्ने कुरा अन्त्य गर्ने दाबी गरे।
उनले नेपालीको बसाइ विकासको बाधक भएको भन्दै अब छरिएका बस्तीहरु एकीकृत गरेर बसाइको तरिका मिलाउन आग्रह गरे।
प्रधानमन्त्री ओलीले आफूले हरेक पाइला अब विकास, आधुनिकता, परिर्वतन र समृद्ध नेपालका लागि चाल्ने बताए।
‘हामी नयाँ युग, नयाँ चरणमा प्रवेश गर्यौं,’ उनले भने, ‘मेरा हरेक पाइला विकास, आधुनिकता, परिर्वतन र समृद्ध नेपालतर्फ हुनेछन्।’
उनले कृषिको आधुनिकीकरणबाट मात्र नेपाल समृद्ध बन्नेमा जोड दिए। ‘अब हामीले कृषिमा आधुनिकीकरण गर्नुपर्यो, व्यवसायीकरण, मेसिनीकरण गर्नुपर्यो, उन्नत जातका बिउविजन, सिँचाइको प्रबन्ध र प्राविधिक सहयोग गर्नुपर्यो,’ प्रधानमन्त्रीले भने, ‘अनि मात्रै नेपाल समृद्ध बन्न सक्छ।’
प्रधानमन्त्री ओलीले प्रकृतिको सही सदुपयोग गरी नेपालमा कृषिबाटै विकासको मूल फुट्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।