राजविराज– उदयपुरमा तीन जना यातायात व्यवसायी पक्राउ परेका छन्। हिमाली यातायात बस व्यवसायी संघ उदयपुरका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेश कार्कीलाई पक्राउ गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जनाए।
हिमाली संघले उदयपुरको कटारी र गाईघाट क्षेत्रमा बिहानैदेखि यातायात सेवा ठप्प बनाएको थियो।
यसअघि सप्तरीमा सगरमाथा यातायात संघ सप्तरीका सचिव दिनेश कसेरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। सचिव कसेरा तथा सदस्यहरु दिनेश गुप्ता र गजेन्द्र भगतलाई पक्राउ गरिएको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए। सिन्डिकेटको पक्षमा रहेर गाडी ग्यारेजमा थन्क्याउने र सर्वसाधारणलाई दुःख दिने गरेकाले पक्राउ गरिएको उनले बताए।
सर्वसाधारणको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हडताल गर्न नपाउने भन्दै गृह मन्त्रालयले बैसाख ११ गते जारी गरेको राजपत्रमा यातायात क्षेत्र लगायत १८ सेवामा अत्यावश्यक सेवा ऐन अन्तर्गत हडताल र बन्द निषेध क्षेत्र घोषणा गरेको छ। अत्यावश्यकीय वस्तुमा हडताल गर्ने व्यवसायीलाई तत्काल पक्राउ गरी सरकारले थुनामा राख्न सक्नेछ भने उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म जेल सजाय हुन सक्छ।
यातायात व्यवसायीहरुले शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका छन्।
उता यातायात क्षेत्रमा हडताल गरी कानुन उल्लङ्घन गर्ने नवलपरासी मध्य नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सञ्जय गुप्ता, सचिव नारायण भण्डारी र कार्यकारी सदस्य तीर्थराज भट्टराईलाई नवलपरासी प्रहरीले सुनवलबाट नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।