रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका ६ सर्स्युंमा आगलागी हुँदा तीन घर जलेका छन्। शुक्रबार अपरान्ह साढे ४ बजे विद्युत् सर्ट भई लागेको आगोले तीन वटा घरलाई खरानी बनाएको छ। आगलागीबाट करिब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार निजी आवास निर्माणका लागि सरकारबाट प्राप्त अनुदानको रकम, अन्नबाली, सुनचाँदी जलेर नष्ट भएको छ।
नौकुण्ड गाउँपालिका ६ सर्स्युंका एकै परिवारका लाक्पा लामा, रालब लामा र मिङ्मार दोर्जे तितुङको घर जलेर नष्ट भएको क्षेत्रीले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।