डडेल्धुरा- कर्णाली रिभर यातायात बस व्यावसायी संघ कैलालीका अध्यक्ष धीरज शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
समितिको प्रधान कार्यालय लम्कीबाट शाहीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। सिन्डिकेट पक्षधर रहेर सार्वजनिक सवारी साधन सञ्चालन नगरी जनतालाई दु:ख दिएको भन्दै उनलाई पक्राउ गरिएको घिमिरेले बताए।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा गाडी ग्यारेजमा थन्क्याई सर्वसाधारणलाई सास्ती दिएको भन्दै यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै देशका विभिन्न ठाउँबाट व्यवसायी पक्राउ परिसकेका छन्। यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आज देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।