काठमाडौं– सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने थप तीन यातायात व्यवसायी पक्राउ परेका छन्। सगरमाथा यातायात संघ सप्तरीका सचिव दिनेश कसेरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
यसअघि काभ्रे मिनिबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकार र सदस्य नरेन्द्र हलुवाईलाई पक्राउ परेका छन्।
पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बन्जाडे, संघका महासचिव पदम गाहा मगर, बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोक कुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
यातायात समिति खारेज गर्ने र देशभर रुट परमिट खुला गरेपछि व्यवसायीहरुले शुक्रबार गाडी ग्यारेजमा थन्क्याएका छन्। गाडी नचलाउने व्यवसायी पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि देशभर प्रहरी परिचालन गरिएको छ भने धमाधन व्यवसायी पक्राउ परिरहेका छन्। देशका विभिन्न ठाउँबाट एक सयभन्दा बढी व्यवसायी पक्राउ परिसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।