काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा सबैले आ–आफ्नो जिम्मेवारीमा नलाग्दा नेकपामा विवाद निम्तिएको बताएका छन्। पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा नेपाल लाइभसँग कुराकानी गर्दै मुख्मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन्।
‘पार्टीका दुई अध्यक्षलाई यसअघिको स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डल’ले पार्टीको काम गरेर सरकारलाई सघाउनु पर्यो। प्रधानमन्त्री केपी ओली सरकारको काममा केन्द्रित हुनुपर्यो,’ टेलिफोन कुराकानीमा मुख्यमन्त्री गुरुङले भने, ‘दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पुरा गरे विवादै हुँदैन।’
आफ्नो जिम्मेवारी छोडेर अध्यक्षहरु नै यसलाई मन्त्री बनाउनु पर्यो उसलाई मन्त्री बनाउने भन्दै लाग्न थालेपछि समस्या हुने गुरुङको भनाइ छ। पार्टीमा विवाद हुनु सामान्य भएको बताउँदै गुरुङले दुई अध्यक्ष बसेर सघन छलफल गरेमा विवाद समाधान हुने बताए।
यसअघि पार्टीमा विवाद हुँदा स्थायी कमिटी बैठक लामो समय चलेको बताउँदै उनले अब दुई अध्यक्ष मात्रै बसेर छलफल गर्नुपर्ने बताए। ‘पार्टीभित्रको विवादका विषयमा सचिवालय वा स्थायी कमिटी बैठकमा छलफल गरेर हुँदैन,’ गुरुङले भने, ‘दुई अध्यक्ष बसेर एकापसमा मन माझेर छलफल गरेमा समाधानको बाटो निस्कन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।