काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहका नेताहरुले आज वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्ने भएका छन्। यसअघि शनिबार केन्द्रीय सदस्य प्रदीप नेपाललाई भेटेका नेताहरुले आज माधवकुमार नेपाललाई उनको निवासमै गएर भेट गर्न लागेका हुन्।
ओली समूहका नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायतले शनिबार नेता प्रदीप नेपाललाई उनकै निवास गोठाटारमा भेटेका थिए। उनीहरुले नेपाललाई पूर्वएमाले एक बनाउन आग्रह गरेका थिए। एमाले नेताहरुलाई एक ठाउँमा उभ्याउन सक्रिय रुपमा लाग्न उनीहरुको आग्रह थियो।
ओली पक्षका नेताहरुसँगको भेटलगत्तै माधवकुमार नेपालले आजै प्रदीप नेपाललाई भेट्ने जनाइएको छ। वरिष्ठ नेता नेपालले आफूलाई बाटो पर्दा नियमितजसो भेट्न आउने गरेको प्रदीप नेपालले बताए। ‘म बस्ने गरेको क्षेत्र उहाँ (माधव नेपाल)को निर्वाचन क्षेत्र पनि भएकाले बाटो पर्दा नियमितजसो आउनुहुन्छ,’ प्रदीप नेपालले भने, ‘आज पनि आउँछु है भन्नुभएको छ। सायद आउनुहुन्छ होला, अरु त्यस्तो राजनीतिक होइन। सामान्य भेटघाट हो।’
वरिष्ठ नेता माधव नेपाल सचिवालय स्रोतले प्रदीप नेपालसँग भेट्ने कुनै कार्यतालिका नभएको बताएको छ। प्रदीप नेपाललाई भेटे पनि राजनीतिक रुपमा कुनै अर्थ नहुने सचिवालय स्रोतको भनाइ छ।
ओली पक्षका नेताले प्रदीप नेपाललाई भने– नेपाललाई मनाइदिनु पर्यो
पार्टीमा ओली पेलानमा परेपछि उनीपक्षका नेताहरु गत शनिबार प्रदीप नेपालसँग गुहार माग्न पुगेका थिए। ‘तपाईं (प्रदीप नेपाल) पुरानो नेता, पार्टी संगठन विभाग प्रमुख भएर चलाउनु भयो। अहिले पार्टीमा विवाद छ,’ प्रदीप नेपालले ओली पक्षका नेताहरुको भनाई उद्धृत गर्दै भने, ‘तपाईं पार्टीमा अलि सक्रिय हुनुपर्यो, माधव नेपाललाई पनि मनाइ दिनुपर्यो। तपाईंले भनेको मान्नुहुन्छ होला।’
ओली पक्षका नेताहरुले अर्का अध्यक्ष प्रचण्डसँग लागेर केही हुँदैन भनेर वरिष्ठ नेता नेपाललाई विश्वस्त बनाउन प्रदीप नेपाललाई आग्रह गरेका थिए। जवाफमा उनले आफू स्वास्थ्यका कारण थप सक्रिय हुन नसक्ने बताएका थिए।
पार्टीमा गाह्रो भएपछि ओली पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई फकाउन विभिन्न उपाय खोज्न थालेका छन्। यसअघि नेपाललाई आफ्नै निवास बालुवाटार बोलाएर ओलीले आफूलाई साथ दिन आग्रह गरेका थिए। पार्टी विवादकै बीच ओलीले नेपाललाई दुई पटक बोलाएर भेटिसकेका छन्। ओलीले खुमलटार धाएर मात्रै केही नहुने भन्दै अब आफूलाई साथ दिन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।