काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ। जितसँगै नेपालको उपाधि जित्ने सम्भावना बाँकी नै छ। बुधबार हुने अन्तिम खेलमा नेपालले भारतलाई हराउन सके उपाधि जित्ने सम्भावना हुनेछ । तर यसको लागि बुधबार नै भुटान र बंगलादेशबीच बराबरी नजिता आउनु पर्ने छ। भारतविरुद्ध बढी गोल गरेमा नेपालले भुटान र बंगलादेश मध्ये जित निकाल्ने टिमलाई गोल अन्तरमा पछि पारेर उपाधि जित्नेछ।
८० मिनेटमा रोमन लिम्बुले गोल गरेर नेपाललाई जित दिलाए। रोमनले ४० यार्ड टाढाबाट हानेको फ्रिकिले सिधै गोलपोस्टको दिशा लिएको थियो । त्यसअघि २३ मिनेटमा अभिशेक रिजालले हेडमार्फत गोल गरेर नेपाललाई अग्रता दिलाए। तर ३० मिनेटमा बंगलादेशका मोहमद अल अमिनले बराबरी गोल फर्काए। फ्रिकिक बल पोलमा ठोक्किएको अवस्थामा नेपालका गोलकिपरले क्लियर गर्न नसकेको बलमा अमिनले हेडमार्फत गोल गरेका थिए।
५३ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित बन्यो। विश्वनाथ घोषले दोस्रो पहँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले ५० मिनेटमा पहिलो कार्ड पाएका थिए।
सोमबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हरायो। पाँच टिमबीच जारी च्याम्पियनसिपमा सबै टिमले समान ३–३ खेल खेलेका छन्। बंगलादेश, भुटान, भारत र नेपालले समान २–२ खेलमा जित र १–ज्ञ मा हार बेहोरेका छन्। चार टिमकै समान ६–६ अंक छ। माल्दिभ्सले भने खाता खोल्न सकेको छैन। राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिनमा बढी अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।