सुर्खेत- सुर्खेतमा छिमेकीलाई दिसा खुवाउने एक महिला पक्राउ परेकी छन्।
बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन्।
गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन्। प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लास्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए।
प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताए। प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।