दमक- कोरोना संक्रमणबाट झापामा ४३ जनाको मृत्यु भएको छ। आइतबार थप तीन जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुने संक्रमितको संख्या ४३ पुगेको हो।
आइतबार बिहान दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
शनिबार मात्रै उपचारका लागि नोबेल लगिएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो। योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।
कमल गाउँपालिका-५ मङ्गलबारेका ७२ वर्षीय होम आइसोलेसनमा नै आइतबार बिहान मृत्यु भएको छ। मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो। केही दिनयता उनी होम आइसोलेसनमा थिए। योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन्।
त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गएराति घरैमा मृत्यु भएको छ। कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उहाँको घरैमा उपचाररत थिए। योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए।
यसअघि शनिबार पनि झापामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।