काठमाडौं- नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका जानकार मोहन थापाले बताएका छन्। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै थापाले यस्तो माग गरेका हुन्।
अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाण अनुसार वि.सं. २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दर्ज्यानी नै पहिलो भएको उल्लेख गरेका उनले यो अभ्यास गलत भएको भन्दै सच्याउन माग गरे।
भारतीय स्थलसेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दर्ज्यानी लिनका लागि यही कात्तिक १९ गते नेपाल आउँदै छन्। नेपाल-भारतले दुवै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा छ।
सन् १९५० देखि दुवै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिँदै आएको उल्लेख गरिएको पाइन्छ। अध्येता थापाले भने विक्रम सम्वत २०२० जेठ २५ गते राजा महेन्द्रवीर विक्रम शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसालाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथी पदवी दिने प्रचलन सुरु भएको बताएका छन्।
यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहेका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पदवी दिएको लिखित प्रमाण रहको उनको भनाइ छ।
त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन बसेको उनको भनाई छ। तर २०४४ सालदेखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पदवी नलिएको पनि उनले बताए।
तत्कालीन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतका बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालीन प्रधान सेनापति जबराले भारत भ्रमण गरेका थिएनन्। त्यसैकारण उनले पदवी नलिएको थापाको भनाइ छ।
नेपालमा एक मात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पदवी दिने गरिएको छ। दुवै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।