काठमाडौं– २ वर्षदेखि साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन्। यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्षदेखि बन्दी जीवन बिताइरहेका छन्।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको ‘इन्द्रेणी’ कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रेमबहादुरको जेलबाट मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले विश्वका अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताउँदै भने,‘अन्य देशका नागरिक फरक उद्देश्य राखेर विदेश जान्छन्। हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ। गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं।’
नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वको सरकारले प्रयास गर्ने ओलीले बताए। ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहिँ रोजगारी सिर्जना गर्नुछ। त्यसका लागि यो सरकार बनेको हो।,’प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।