गाईघाट– सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार पक्राउ गरेको छ। राउत त्रियुगा नगरपालिका–७, चुहाडे निवासी हुन्।
विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो।
बिहीबार नेता राउत घरनजिकै एक छिमेकीकोमा लुकेर बसेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले उनलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ।
पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएपछि अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए।
एकहप्ता अघि पनि विप्लव माओवादी उदयपुरका जनसरकार प्रमुख जीतबहादुर पुलामी मगरलाई पनि प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।