काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौबाट सुर्खेत फर्किएलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने बताएका छन्। नेपाल लाईभसँग संक्षिप्त कुरा गर्दै शाहीले शुक्रबार सुर्खेत पुगेपछि मन्त्रिपरिषद पुनर्गठनमा लाग्ने बताएका हुन्।
‘दसैं काठमाडौमा मनाएँ, शुक्रबार सुर्खेत जान्छु होला’, नेपाल लाईभको जिज्ञासामा शाहीले भने, ‘सुर्खेत पुगेलगत्तै सबै पक्षसँग परामर्श गरेर पुनर्गठन गर्नेछु ।’
गत कात्तिक ७ गते अविश्वास प्रस्ताव फेल गराएपछि मुख्यमन्त्री शाहीले दशैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने बताएका थिए । मुख्यमन्त्री शाहीलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले सघाएपछि अविश्वास प्रस्ताव फेल भएको हो। अविश्वास प्रस्तावमा नेपाल पक्षले सघाएपछि शाहीले मन्त्रिपरिषद पुनर्गठनमा समेट्ने अश्वासन दिएका छन्।
प्रचण्ड र नेपाल पक्षबाट तीनदेखि चार जनामन्त्री बन्ने सम्भावना देखिएको छ। तर, ओली पक्षका नेता यामलाल कँडेलले चार बुँदे सहमतिका आधारमा सहमति खोज्नु पर्ने बताउँदै आएका छन्। गत असोज २५ गते मुख्यमन्त्रीविरुद्ध १८ जनाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि कर्णालीमा विवाद चर्किएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।