काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तय भइसकेको भए पनि उनी आउने मितिबारे बल्ल भारतले औपचारिक मिति घोषणा गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार भारतीय विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता राभिस कुमारले प्रधानमन्त्री मोदी मे ११ अर्थात् वैशाख २८ गते नेपाल भ्रमणमा जाने औपचारिक घोषणा गरेका हुन्।
यसका साथै, उनले मोदीको नेपाल भ्रमण दुई दिने हुने खुलाएका छन्।
‘प्रधानमन्त्री मोदी ११ र १२ मेमा नेपालको भ्रमणका लागि जानुहुनेछ,’ राभिस कुमारले भने।
विदेश मन्त्रालयको ब्रिफिङमा मोदीको भ्रमणको औपचारिक मिति घोषणा बाहेक भ्रमणका एजेन्डा र अन्य विवरण भने खुलाइएको छैन। तर, भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले जानकी मन्दिरसहित मुक्तिनाथको पनि दर्शन गर्ने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।