काठमाडौं- भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री केपी ओलीको भेटेको बारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ढाकछोप गरेको भन्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्।
आइतबार मन्त्री ज्ञवालीले कान्तिपुर एफएममा दिएको 'भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्' भन्ने भनाइका सम्बन्धमा मिश्रले सामाजिक सञ्जाल फेसबुक/ट्विटर मार्फत ८ वटा प्रश्न सोधेका छन्।
'ढाकछोपको पनि सीमा हुन्छ', मिश्रले लेखेका छन्, 'यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।'
गोयल भारतीय प्रधानमन्त्रीको प्रतिनिधि बनेर आएको भए त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको भनेर मिश्रले प्रश्न उठाएका छन्।
'युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?', मिश्रको प्रश्न छ, 'नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?'
मिश्रले लेखेका छन्-
परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्न:
भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज विहान कान्तिपुर हेडलाइनर्समा।
१। त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?
२। युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?
३। नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?
४। नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन्?
५। भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन?
६। भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?
७। भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?
८। यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?
ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।