काठमाडौं– औषधीमा कालोबजारी गरेको आरोपमा थापाथलीस्थित फार्मेसी सञ्चालक पक्राउ परेका छन्। प्रसुती गृहको ९ नम्बर सटरमा सञ्चालित रिजन फार्मेसीका सञ्चालक ईश्वर दवाडीलाई प्रहरीले पक्राउ गरेको हो।
उद्धव प्रसाद तिमल्सिनाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। तिमिल्सनाकी श्रीमतीले सो फार्मेसीबाट महिलाहरुले प्रयोग गर्ने कन्जुगेटेड एक्सटोर्जन क्रिम खरिद गरेकी थिइन्। अधिकतम ६ सय ३८ रुपैयाँ पर्ने सो क्रिमलाई दवाडीले एक हजार रुपैयाँ लिएका थिए।
आफुलाई ठगी गरेको थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीमा उजुरी गरेको थाहा पाएपछि दवाडीले पैसा फिर्ता दिन लागेका थिए। तर, पीडितले पक्राउ गराएर कारबाही गराएका हुन्।
उनलाई कालोबजारी ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।