काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध पार्टी संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले शाही विरुद्धको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकमा १८ जना मात्रै प्रदेश सभा सदस्य उपस्थित थिए। बैठकमा केपी ओली पक्षका सदस्यहरु अनुपस्थित रहेको थिए।
अविश्वास प्रस्ताव अस्वीकृत भएको प्रदेश सभा सदस्य बिन्दमान विष्टले बताए। ‘मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव फेल भइसकेको छ, ’विष्टले भने, ‘अविश्वास प्रस्तावमा समर्थन जनाउन आउने सांसदको संख्या अझै बढ्ने देखिन्छ। अरु धेरै नेताले भौतिक रुपमा उपस्थित हुन नसके पनि आफ्नो समर्थन जनाएका छन्।’
अविश्वास प्रस्तावका विषयमा छलफल गर्न प्रमुख सचेतक सीताकुमारी नेपालीले दलको बैठक बिहान ११ बजे बोलाएकी थिइन्।
अविश्वास प्रस्ताव असफल भएपछि सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कमीकमजोरी भए सच्याउन तयारी रहेको बताउँदै अब सबै मिलेर कर्णालीको विकासमा जुट्नुपर्ने बताएका छन्। ‘मेरा पनि केही कमजोरी हुन सक्छन्। यदी कमजोरी भए सच्याउन तयार छु, ‘शाहीले भने, ‘तर सबै मिलेर कर्णालीको विकास र समृद्धिमा लागौं।’
कर्णाली प्रदेशमा अत्यन्तै विविधता रहेको ख्याल गर्दै विकासमा ध्यान दिनुपर्ने शाहीले बताए। सरकारात्मक र प्रभावकारी काम गर्न सबैसँग हातेमालो गर्न तयार रहेको शाहीले बताएका छन्।
आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड पक्षका १० र माधव नेपाल पक्षका ८ जना सांसद उपस्थित थिए।
गत असोज २५ मा १८ जना सांसदले मुख्यमन्त्री शाही विरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यतिबेलाका प्रमुख सचेतक गुलाबजंग शाहले बोलाएको संसदीय दलको बैठकमा ११ जना मात्रै उपस्थित भएका थिए।
अविश्वास प्रस्ताव दर्ता भएलगत्तै प्रचण्ड र माधव नेपाल पक्षबीच नयाँ समझदारी भएको थियो। जसले गर्दा नेपाल पक्षका सदस्यहरु अविश्वास प्रस्तावबाट फिर्ता भएका थिए।
त्यसपछि नेकपाका कर्णाली प्रदेश कमिटी सदस्यहरु र मुख्यमन्त्री शाहीलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं बोलाएका थिए। तर उनीहरुलाई भेटेका अध्यक्षद्वयबीच समान धारणा बन्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।