काठमाडौं–मानव अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगका एक दोषी ६ वर्षपछि पक्राउ परेका छन्। उक्त मुद्दामा १७ वर्ष कैदको सजाय सुनाइएपछि फरार भएका झापाको मेची नगरपालिका–१२ का ३८ वर्षीय नरेश मेचे पक्राउ परेका हुन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले गोंगबुको एक होटलबाट पक्राउ गरेको हो ।
२०७१ माघ १८ गते झापाका सुनीलकुमार अग्रवाललाई मेचे र बजरंग पन्सारीसमेतले हतियार देखाएर अपहरण गरेका थिए। उनलाई डर देखाई एम्बुलेन्समा हालेर झापाको धरमपुर–२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाई राखिएको थियो। त्यसको तीन दिनपछि प्रहरीले सुनीलकुमारको उद्दार गरेको थियो। प्रहरीले उद्दार गर्ने बेला अपहरणकारी र प्रहरीबीच गोलीसमेत चलेको थियो । त्यसबेला एक जना प्रहरी कर्मचारी घाइतेसमेत भएका थिए।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले ज्यान मार्ने उद्योग, मानव अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाएको थियो । झापा जिल्ला अदालतले उनलाई २०७३ असार २१ गते १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।