दोलखा– भूकम्पबाट क्षति पुगेको दोलखाको खरिढुंगा लाकुरीडाँडास्थित सुर्के माध्यमिक विद्यालयको नयाँ भवन बनेको छ।
अन्तर्राष्ट्रिय परोपकार संस्था एसओएस बालग्रामले करिब ८ करोड लागतमा निर्माण गरिदिएको सुविधासम्पन्न विद्यालय भवन बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीमार्फत हस्तान्तरण गरियो। पर्यटनमन्त्री अधिकारीले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई नयाँ भवन हस्तान्तरण गरेका हुन्।
त्यस्तै, दोलखाको लाकुरीडाँडामा भूकम्प पीडितका लागि बनाइएका ३ वटा घर पनि हस्तान्तरण गरिएको छ। एसओएस बालग्रामले निर्माणका लागि जिम्मा लिएको १ सय ७ मध्ये १०४ वटा घर र एउटा सामुदायिक भवन (गुम्बा) निर्माणाधीन अवस्थामा छ।
एसओएसले ०७२ वैशाख १२ र २९ को भूकम्पबाट क्षति भएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ स्थित भीमटारमा १ सय ७७ वटा नयाँ घर, एउटा विद्यालय र एउटा सामुदायिक भवन बनाएर हस्तान्तरण गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।