काठमाडौं- भक्तपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्न पत्राचार गरिएको जानकारी दिएको हो।
'अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले सो अनुसार गर्नु/गराउनुहुन अनुरोध छ,' सबै सरकारी कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा भनिएको छ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयहरूको भिडभाड घटाउन यस्तो निर्णय गरिएको बताइएको छ। असोज २६ गते मन्त्रिपरिषद् बैठकले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा रोक लगाउन सक्ने निर्णय गरेको थियो। शुक्रबारसम्म भक्तपुरमा १८८४ जना सक्रिय संक्रमित छन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार मात्र २४०२ जना कोरोना संक्रमित उपत्यकामा थपिएका थिए।
यसअघि जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कात्तिक २ गतेदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।