धनगढी- स्थानीय तहको कानुन निर्माणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश ७ को प्रदेश सभामा पेश भएको छ।
दफावार र गहन छलफलका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पेश गरेका हुन्। उनले सदनबाट विधेयक पारित भएर कानुन र ऐनको रुपमा आउने विश्वास व्यक्त गरे।
सीमा अतिक्रमणबारे जानकारी
कञ्चनपुरको पुनर्वास नगरपालिका–१ प्याराताल क्षेत्रमा उत्पन्न सीमा विवादबारे आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बुधवार सदनलाई जानकारी गराएका छन्।
उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रको भावना विपरित नेपाली भूमिमा भारतको हस्तक्षेप, दादागिरी बढेकोले त्यसलाई भारतले सच्याएर सार्वभौम सम्बन्धलाई कायम राख्नुपर्ने बताए।
दुधुवा नेशनल पार्कबाट खेतमा आउने वन्यजन्तु रोक्नका लागि नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा काँडेतार लगाउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेका थिए। काँडेतार दशगजा क्षेत्रमा परेको भन्दै एसएसबीले बैसाख १३ गते तारबार गर्न ठड्याइएको पिल्लर पनि उखेलेर फालेको मन्त्री शाहले बताए। उनले सीमा क्षेत्रमा उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सरकारलाई आग्रह गर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।