काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको संख्या बढाएर भए पनि एकता प्रक्रियाको सांगठनिक समस्या समाधान गरिने बताएका छन्।
कोटेश्वरको पेरिसडाडाँस्थित माओवादी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाम गठबन्धन कार्यदलको सुझाव अनुसार प्रस्ताव गरिएको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाएर भए पनि नेकपा एमाले र माओवादी केन्द्रका नेताको व्यवस्थापन गरिने बताए।
पार्टी एकता प्रक्रियाको पछिल्लो अवस्थाबारे सचिवालय बैठकलाई जानकारी दिँदै अध्यक्ष दाहालले दुवै दलले केन्द्रीय कमिटीको लिस्ट बनाउने र व्यक्ति हेरेर काटछाँट गर्ने विषयमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल चलेको जानकारी गराए।
बैठकमा सहभागी माओवादीका एक नेताका अनुसार अध्यक्ष दाहालले एकीकृत पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने उल्लेख गर्दै एकीकृत पार्टीको संख्याले नेतृत्व चयनमा फरक नपार्ने धारणा राखेका थिए।
बैठक स्रोतका अनुसार अध्यक्ष दाहालले तीन दिनपछि मे ५ मा मार्क्स जयन्तिका अवसरमा एकताबारे विशेष सन्देश दिने तयारी भएको छ। बैठकमा केन्द्रीय सचिवालय सदस्यले एकतालाई समानतामूलक, न्यायोचित र सम्मानपूर्ण बनाउन नेतृत्वलाई सुझाव दिएका थिए।
बैठकमा अध्यक्ष दाहालले माओवादीको प्रदेश, जिल्ला र स्थानीय तहको सांगठनिक स्वरुपको टुंगो लगाउँदै सदस्यता नवीकरण गर्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।