सिन्धुपाल्चोक– नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शशांक कोइरालाले गुटबन्दी छोडेर एक भई अगाडि बढ्नुपर्ने बताएका छन्। मंगलबार मेलम्ची नगरपालिकाको थकनी ओख्रेनीचौरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसी सबै एक हुनुपर्नेमा जोड दिए।
‘नमीठो हार व्यहोरिसकेका छौ, अब खारिएर एकमतमा अगाडि लाग्न जरुरी छ,’ उनले कार्यकर्तालाई भने। गत शुक्रबारबाट ओखरेनी चौरको मध्य जंगलक्षेत्रमा गरिएको प्रशिक्षण कार्यक्रमको समापन गर्न पुगेका महामन्त्री कोइरालाले स्थानीयलाई कांग्रेसले गरेको विकासक्रम जनतालाई बुझाउने बेला आएकाले गाउँ पस्न सबैलाई आग्रह गरे।
उनले विपी कोइरालालाई सम्झँदै विपीको 8वादलाई अन्य देशले अपनाइरहेको तर कांग्रेसले बिर्संदै गएकोमा गुनासो गरे।
कांग्रेसका पूर्व सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस सरकारमा नरहे पनि विकासका काममा अगाडि बढ्ने बताए। ‘प्रशिक्षणले नयाँ सन्देश र तंरग ल्याएको छ, यहाँको युवावर्गले सदुपयोग गरेका छन्,’ उनले भने। यस्तो प्रशिक्षणलाई देशभर व्यापक बनाएर लैजाने योजना ल्याउनुपर्ने बस्नेतलले बताए।
कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, गुरु घिमिरे, राष्ट्रियसभा सदस्य वद्री पाण्डे, प्रदेशसभा सदस्य जीवन परियार, प्रदेशसभा सदस्य नीमा लामा र काभ्रेका सभापति मधु आचार्य लगायतले प्रशिक्षण दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।