खोटाङ– भारी बोकेर मासिक १ लाखभन्दा बढी कमाइ गर्ने खोटाङका ७२ वर्षीय ‘गोथे’ भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ।
दिक्तेल बजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको हो।
गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट), पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन्।
प्रदेशसभा सदस्य उषाकला राई, पूर्वसभासद दुर्गाजयन्ती राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले संयुक्त रुपमा १ हजार रुपैयाँ नगदसहित नेपाली टोपी ओढाएर उनलाई सम्मान गरेका थिए।
लामो समयदेखि जिल्लावासीको समान तथा भारी ओसारपसार गरी सेवा दिने गुरुङको श्रमलाई विशेष अवसर पारेर सम्मान गरिएको जिफण्टका जिल्ला सचिव प्रकाश पोखरेलले बताए।
हरेक समय समान ओसारपसारमै व्यस्त देखिने गुरुङ आफ्नो दुई छोरासहित दिक्तेल बजारमै बसोबास गर्दै आएका छन्। श्रीमतीले छोरा र श्रीमानलाई छाडेर गएपछि दुवै छोरालाई गुरुङ आफैँले पालनपोषण तथा शिक्षादिक्षा दिइरहेका छन्।
सोही अवसरमा दिक्तेल बजारमै भारी बोकेर घरपरिवार चलाउँदै आएका राजन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।