काठमाडौं–कर्णाली प्रदेशमा सुरु भएको नेकपाको विद्रोह मथ्थर पार्न काठमाडौंबाट केन्द्रीय सदस्य निरज आचार्य सुर्खेत पुगेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालको दूत बनेर आचार्य सोमबार सुर्खेत पुगेका हुन्।
आचार्यले प्रदेशका शीर्ष नेता र सांसदहरुसँग छलफल चलाएको सांसद गोपाल शर्माले बताए। उनले सोमबारदेखि नै आफ्नो सक्रियता देखाएका थिए मंगलबार पनि बिहानै नेताहरुसँग छलफल र सल्लाह गरिरहेको बताइएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वास प्रस्ताव ल्याएपछि काठमाडौबाट आचार्य पुगेका हुन्। सोमबार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा वरिष्ठ नेता नेपालसहित प्रवक्ता नारयणकाजी श्रेष्ठ,सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन,सुरेन्द्र पाण्डे,युवराज ज्ञवालीसहित नेताहरुले छलफल गरेका थिए । छलफललगत्तै नेता आचार्यलाई विवाद मिलाउन सुर्खेत पठाएको नेता युवराज ज्ञवालीले बताए। ‘
हामीले सल्लाह नै गरेर विवाद मिलाउन निरज कमरेडलाई पठाएका हौं,’ नेता ज्ञवालीले नेपाल लाईभसँग भने, ‘उहाँ (निरज)ले त्यहाँको समस्या समाधानका उपायलगायत विविध विषयमा बुझ्नु हुनेछ। सकेसम्म आफैं सल्टाएर आउन निर्देशन दिइएको छ।’ नेता आचार्य विवाद साम्य पारेर मात्रै फर्कने भएका छन्। अविश्वास प्रस्ताव ल्याउने १८ जनामध्ये ८ जना नेपाल पक्ष, ७ जना ओली र ३ जना प्रचण्डनिकट नेता छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।