काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सकिएको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँगको पार्टी एकतामा भएका प्रगतिबारे ब्रिफिङ गरेका थिए।
'अध्यक्षले पार्टी केन्द्रीय कार्यालयबाट भएका काम र एकता प्रक्रियाको प्रगतिबारे रिपोर्टिङ गर्नुभयो,' बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, 'दुई अध्यक्षबीच छलफल भइरहेको छ। एकता प्रक्रियाबारे थप छलफल भोलि पनि गर्नुहुनेछ।'
राजनीतिक हिसाबले एकता प्रक्रिया टुंगिए पनि विधान र संगठनबारे केही छलफल बाँकी रहेको भुसालले बताइन्।
विधानमा जनयुद्ध लेख्न एमाले तयार भएको भन्दै उनले जबज र माओको जनवादका विषयमा पनि टुंगो लागिसकेको बताइन्।
५०/५० प्रतिशतको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, 'कुनै प्रतिशतको कुरा होइन, विचारका राजनीतिका आधारमा एकता हुने हो। समानता, सम्मान र न्यायोचित आधारमा एकता हुन्छ। एकता भनेको कुनै व्यापार होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।