काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध पार्टी संसदीय दलमा दर्ता गरिएको अविश्वास प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान भेट्न गएका नेताहरुलाई प्रचण्डले व्यक्तिगत स्वार्थमा लागेर प्रदेश सरकार फेरबदलमा लाग्नु उचित नभएको बताएका हुन्।
सोमबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवलाय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, केन्द्रीय सदस्य निरज आचार्य पुगेका थिए। कर्णाली प्रदेशमा भइरहेको राजनीतिक घटनाक्रममा असन्तुष्टि जनाउँदै प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका थिए।
त्यसपछि उनी अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग छलफलका लागि भन्दै बालुवाटार पुगेको थिए।
प्रदेशमा भागबण्डा गरेरै मुख्यमन्त्रीको टुंगो लगाइएको बताउँदै प्रचण्डले फेरि विभिन्न लाञ्छना लगाएर अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक अस्थिरता मच्चाउन नहुने बताएको बैठकमा सहभागी एक नेताले बताए। ‘हामीले तत्कालीन एमाले-माओवादीले सहमतिमै मुख्यमन्त्री टुंगो लगाएका हौं। त्यसै अनुसार चार मुख्यमन्त्री एमाले र दुई माओवादी समूहले लियो। त्यसै अनुसार प्रदेशको मन्त्रीको टुंगो लगायौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती उनले भने, ‘फेरि मुख्यमन्त्रीले कामै गर्न सकेनन्, समन्वय गरेनन् भनेर अनेक आरोप लगाएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो। यस्तो गर्न थालियो भने सातै प्रदेशमा सरकार बनाउने र ढाल्ने क्रम वर्षैभर चल्छ।’
मुख्यमन्त्रीसँग अरु प्रदेशका मन्त्री र सांसद समेत असन्तुष्ट रहेकाले कर्णाली प्रदेशमा भएको अविश्वासको प्रस्तावले अन्य प्रदेशमा समेत समस्या निम्तिने प्रचण्डले बताएका थिए।
उनले अविश्वासको प्रस्तावले समग्र परिवतर्नलाई असर गर्ने पनि बताए।
व्यक्तिगत स्वार्थमा लागेर प्रदेश सरकार फेरबदलमा लागेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए। ‘कर्णाली प्रदेशमा अविश्वास प्रस्ताव आउनुमा कुनै राजनीतिक र आर्थिक परिवर्तनका लागि ल्याएको होइन’, उनले भने, ‘नितान्त आफ्नो व्यक्तिगत महत्त्वकांक्षा व्यक्तिगत लाभमा परेर अविश्वास प्रस्ताव ल्याइयो। यसले प्रदेश सरकार, नेकपा पार्टी र जनता कसैलाई लाभ गर्दैन।’
कर्णाली प्रदेशका सांसदले ल्याएको अविश्वास प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने ती स्थायी कमिटी सदस्यले बताए।
स्थायी कमिटी सुरेन्द्र पाण्डेले आफू अध्यक्ष प्रचण्डलाई भेट्न गए पनि सामूहिक रुपमा नभेटेको बताए। कर्णाली प्रदेशमा सांसदहरुले ल्याएको अविश्वास प्रस्तावका विषयमा आफूलाई समेत उचित नलागेको उनले बताए। आइतबार मुख्यमन्त्री शाहीका विरुद्ध १८ जना सांसदले हस्ताक्षर गरी पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएका छन्। जसमध्ये ८ जना माधव नेपाल पक्षका, ७ जना ओली पक्षका र ३ जना प्रचण्ड पक्षका छन्। कर्णाली प्रदेशका कुल ४० सांसदमध्ये नेकपाका ३३ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।