कर्णाली- एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध तीन जना पूर्वमाओवादी समूहका नेताको सहयोगमा सांसदले अविश्वास प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गराए। मुख्यमन्त्री भएदेखि नै शाहीसँग असन्तुष्ट रहेका उनीहरुले त्यसलाई आइतबारमात्र सार्वजनिक गरे।
प्रदेश सभामा दर्ता गर्नुपर्ने पस्ताव सुरुमा उनीहरुले संसदीय दलमा दर्ता गराए। सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ। मुख्यसचिवको दावेदार रहेका कडेँलले मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। प्रदेश सभामा दर्ता नभएकाले यो प्रस्तावलाई तत्काल नेकपाभित्रको आन्तरिक किचलोको रुपमा मात्र लिनुपर्ने देखिन्छ।
यो प्रस्ताव प्रदेश सभामा पुगेमा भने मुख्यमन्त्री शाही संकटमा पर्नेछन्। उनले आफू बहुमतमा भएको देखाउनुपर्ने र विपक्षमा बहुमत हुँदा उनी मुख्यमन्त्रीबाट बाहिरिने छन्।
कर्णाली प्रदेशका कुल ४० जना प्रदेशसभा सदस्यमध्ये १८ जना नेकपा सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। अविश्वास प्रस्ताव दर्ता गराएकामध्ये पूर्वमाओवादी समूहबाट पुष्पा घर्ती (विष्ट), धर्मराज रेग्मी, ठम्बरबहादुर विष्ट छन्। अविश्वास प्रस्तावमा दर्ता गराउन सहयोग गर्ने १५ हस्ताक्षरकर्ता सांसद् भने पूर्वएमाले समूहका हुन्।
प्रदेशसभामा पूर्वएमाले समूहबाट १९ जना र माओवादी समूहबाट १३ जना सांसद छन्। पूर्वमाओवादीका तर्फबाट शाही मुख्यमन्त्री भएपछि अध्यक्ष केपी शर्मा ओली निकट नेता यामलाल कँडेलले उनलाई असहयोग गर्दै आएका थिए। मुख्यमन्त्री शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ निकट मानिन्छन्।
उपसभामुखको हस्ताक्षर
सभामुख र उपसभामुख निर्वाचित भएपछि उनीहरू पार्टीभन्दा माथिको हुने संसदीय अभ्यास छ। संसदभित्र हुने भोटिङमा समेत उनीहरुले पक्षपात नगर्ने र संसदमा सबैलाई बराबर व्यवहार गर्ने परम्परा मानिन्छ। प्रदेश सभामा पनि बहुमतले निर्णय हुने मतदानमा सभामुख र उपसभामुखले भाग लिने गरिँदैन।
सबैको साझा हुनका लागि राजनीतिक दलको सदस्यताबाट समेत राजीनामा दिने चलन छ। तर मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावमा भने उपसभामुख पुष्पा घर्ति मगरले हस्ताक्षर गरेको पाइएको छ। सभामुख राजबहादुर शाही मौन बसेपनि उपसभामुख घर्तिले भने मुख्यमन्त्रीको विपक्षमा हस्ताक्षर गरेको पाइएको हो। यो कानुनी बन्धनभन्दा पनि आफूलाई तटस्थ देखाउन र प्रदेश सभामा दलीय व्यवहार नहोस् भन्नका लागि गर्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।