काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय विगत एक वर्षदेखि आफूसँगै राख्दा असुक्षित भएका छन्। तत्कालिन भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले ३१ साउन ०७६ मा उनलाई बर्खास्त गरेका थिए।
खत्रीलाई एक करोड १० लाख ८० हजार रकम लेनदेनमा कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्रविधिक कार्यालय भोजपुरमा पेश गरेको ठहर गर्दै उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि मुख्यमन्त्री शाहीले खत्रीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर खत्रीले राजीनामा दिन अटेर गरेपछि शाहीले बर्खास्त गरेका थिए।
रिक्त मन्त्रालयमा मन्त्री हुन अध्यक्ष प्रचण्ड समूह, अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका धेरै नेताले आकांक्षा देखाएको प्रदेश सभाका एक सदस्यले बताए। ‘शाहीलाई एउटा मन्त्रालयमा एक जना मन्त्री कुन गुटका नेतालाई बनाउने भन्नेमै अन्यौल भयो। उनले लामो समयसम्म अध्यक्ष ओली र प्रचण्डबाट समेत स्पष्ट संकेत पाएनन्‚’ ती प्रदेश सभा सदस्यले भने, ‘त्यसपछि शाहीले लामो समय तीनै गुटका नेतालाई मन्त्री बनाउने आवश्वासन बाडेर थामथुम पारेका थिए । शाहीले एक वर्षदेखि भौतिकमन्त्री कसैलाई जिम्मेवारी नदिई आफैं राखेपछि आफ्ना भनिएका पनि विपक्षमा उभिन पुगेका हुन्।’
एमाले माओवादी भागबन्डामा मुख्यमन्त्री भएका शाही एमाले समूहबाट निक्कै तारो बनेका थिए। प्रदेशमा एमाले २० सिट हुँदाहुँदै १३ सिटमात्रै भएको माओवादी समूहलाई मुख्यमन्त्री छोड्न तयार भएका थिए। माओवादी समूहबाट मुख्यमन्त्रीको आकांक्षा शाहीसहित आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राखेका थिए।
तर, भण्डारी योग्य र सक्षम हुँदाहुँदै उनी पार्टी फुटाएर तत्कालीन माओवादी नेता मोहन वैद्यबाट फर्किएर आएकाले शाहीले मुख्यमन्त्री बाजी मारेका थिए। जब शाही मुख्यमन्त्री भए त्यसपछि उनी तत्कालीन एमाले नेता यामलाल कडेलको तारो बनेका थिए। ओली समूहका अत्यन्तै निकट रहेका कडेलले अन्ततः आइतबार प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव पेश गरेका छन्।
प्रदेशका कुल ४० सांसदमध्ये एमाले समूहबाट २० जना सांसद छन्। जसमध्ये राजबहादुर शाही सभामुख भएकाले १९ जनामात्रै छन्। तत्कालीन एमाले १९ जनामध्ये ८ जनामात्रै नेपाल समूहका छन्। प्रचण्ड समूहका कुल १३ जनामात्रै सांसद छन्। जसमध्ये उपसभामुख पुष्पा घर्ती(पुष्पा)ठम्बरबहादुर विष्ट र धर्मराज रेग्मी शाहीको विरुद्ध अविस्वास प्रस्तावको पक्षमा उभिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।