राजविराज– दुई साताअघि पड्किएको ट्रान्सफर्मर मर्मत नहुँदा सप्तरीको महदेवा गाउँपालिका–२, कजौली टोलका २ सय परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्।
कजौलीको विद्युत् आपूर्तिका लागि राखिएको ५० केभीएको ट्रान्सफर्मर अत्यधिक लोडका कारण पड्किएको थियो। दुई साता बितिसक्दा पनि ट्रान्सफर्मर मर्मत नहुँदा अँध्यारोमै बस्नुपरेको स्थानीय विष्णुदेव यादवले बताए।
विद्युत् आपूर्ति बन्द भएपछि कुटानी–पिसानी लगायतका समस्या बढेको र विद्यार्थीको पढाइ समेत प्रभावित भएको स्थानीयवासी पीडित भएको उनले बताए।
ट्रान्सफर्मर मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजमा जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयले एक साताअघि नै कार्यालयमा लिखित निवेदन दिएका छन्। प्राधिकरणले भने विद्युत् चोरीका कारण जिल्लाभरि नै १५÷१६ वटा ट्रान्सफर्मर जलेको जनाउँदै प्राथमिकताका आधारमा मर्मत भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।