काठमाडौं- शनिबार देशमा हालसम्मकै सबैभन्दा बढी ५ हजार ८ जनामा कोरोना सक्रमित भएको पुष्टि भयो। कुल १९ हजार ३२० परीक्षण गर्दा ५ हजार ८ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।
शनिबार नेपालमा कुल परीक्षणको २५.९२ प्रतिशत कोरोना संक्रमित भएका छन्। यसको अर्थ १ सय जनाको परीक्षणमा २६ जनामा कोरोना संक्रमण भएको भन्ने हो। यो दर निकै उच्च हो।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल परीक्षण संख्याको १० देखि १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिए परीक्षणको अभाव भएको मानिन्छ। यसले नेपालमा परीक्षणको अभाव रहेको र तत्कालै परीक्षणको दायरा बढाउनुपर्ने पुष्टि गरेको छ।
नेपालमा गत जुन १२ मा कुल संक्रमितको संख्या ५ हजार कटेको थियो। जनवरी २३ मा नेपालमा पहिलोपटक संक्रमण भेटिएपछि ५ हजार संक्रमित पुग्न करिब ६ महिना लागेको थियो। तर बिहीबार एकैदिन ५ हजारभन्दा बढी संक्रमित भेटिएपछि यसलाई नियन्त्रणमा लिन सजिलो नभएको स्वास्थ्य मन्त्रालयको आँकलन छ।
शनिबार ५ हजारभन्दा बढी थपिएपछि देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्।
आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हाल ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।