काठमाडौं- पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले कोरोना महामारीको मौकामा भ्रष्टाचार बढेको र सरकारले त्यसलाई नजरअन्दाज गरेको आरोप लगाएका छन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले गैरआवसीय नेपाली संघ (एनआरएनए)को दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार अयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले सो आरोप लगाएका हुन्।
‘राज्यले अझै पनि स्वास्थ्य क्षेत्रमा भइरहेका भ्रष्टाचारलाई रोक्न सकेको छैन। औषधि, भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्रीमा अनियमितता भइरहेको छ। भेन्टिलेटर नै डुप्लिकेट ल्याइएको छ,’ कार्यक्रममा बोल्दै उनले भने, 'तर ती सामग्री खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन हुन सकेको छैन।'
गुणस्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय सामग्री खरिद आवश्यक रहेको भन्दै यसका लागि बरु एनआरएनएलगायत अन्तराष्ट्रिय निकायसमेत सहकार्य गर्न आवश्यक रहेको पूर्वमन्त्री यादवको धारणा छ।
स्वास्थ्य मानिसको आधारभूत अधिकार भएको तर नेपालजस्ता विकशील मुलुकहरुमा आधारभूत अधिकारबाट नै नागरिकहरु बञ्चित हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।
‘सबै नागरिकका लागि प्राथमिक स्वास्थ्य सुविधा निः शुल्क भन्ने छ। तर सरकारी अस्पताल जाँदा औषधि छैन। निजीमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य बन्नुपर्ने अवस्था छ,’ उनले भने।
कोरोना महामारीको समयमा पनि आर्थिक रुपले असक्षम नागरिकहरु खासगरी विपन्न तथा दलित समुदायहरु आबश्यक स्वास्थ्य सुविधाबाट बञ्चित बन्न बाध्य रहेको उल्लेख गर्दै कोरोनाका कारण यही वर्गका व्यक्तिहरुले ज्यान गुमाउनु परेको प्रष्ट पारे। कोरोना महामारीले जटिल रुप लिँदै गएकाले अवस्था नेपालको सामर्थ्यभन्दा बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरे।
उनले गम्भीर भएर महामारी नियन्त्रणमा सरकारले ध्यान दिन पनि सुझाव दिए। ‘एकातिर खुल्ला सीमाना, चेतनाको अभाव, र विभिन्न कारणले नेपालमा तीव्र गतिमा कोरोना फैलिएको छ,’ उनले भने, ‘यसबाट बचाउन कुनै लापरबाही नगरी राज्य लाग्नुपर्ने देखिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।