काठमाडौं- सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउने पञ्चायतका १० सहित १४ जनाविरुद्ध सप्तरी जिल्ला अदालतमा बलात्कार, आत्महत्या दुरूत्साहन र कर्तव्य ज्यान मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय सप्तरीले नाबालिकालाई बलात्कार गर्ने २ जना र बलात्कारको प्रयास गर्ने अन्य २ जना र त्यसलाई गाउँमै मिलाउने १० जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला अदालतमा श्रेष्तेदार श्रीकुमार मास्केले सामूहिक बलत्कारमा संलग्न भएका र २५ हजारमा मिलापत्र गराउनेदेखि संलग्नसम्म १४ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दायर भएको बताए।
भदौ २९ मा डाक्नेश्वरी नगरपालिका–७ पिपरामा दुई युवाले सोही ठाउँकी फूलमाया (परिवर्तित नाम)लाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ।
उक्त घटनापछि गाउँमा पञ्चायत बसेर फूलमायाका परिवारलाई प्रहरी समक्ष पुग्न नदिई बलात्कारीबाट २५/२५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेका थिए। फूलमायाले आत्महत्या गरेपछि यो घटना सार्वजनिक भएको थियो।
यो घटनामा जिल्ला सरकारी वकील कार्यालयले राम र श्यामलाई तीनवटा अभियोग लगाएको छ। जबरजस्तीकरणीमा सात वर्षदेखि १० वर्षसम्म, त्यस्तो अपराध सामूहिक रूपमा गरेकाले थप पाँच वर्षसम्म कैद, आत्महत्या दुरूत्साहनमा पाँच वर्ष कैदको सजाय माग गरेको छ।
त्यस्तै ५० हजार जरिवाना तथा प्रहरीलाई आफूमाथि भएको अपराधको सूचना दिन फूलमायालाई रोकेकोमा दुई वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवानाको माग अभियोगपत्रमा गरिएको श्रेष्तेदार मास्केले बताए। दुवै जना १५ वर्षमुनी भएको कारण उनीहरूलाई ठहर भएको सजायको आधा सजाय मात्र हुनेछ।
त्यस्तै विष्णु मण्डल र धर्मदेव मण्डलसमेत गरी चार जनाले सामूहिक बलात्कारको प्रयास गरेकोमा विष्णु र धर्मदेवले बलात्कार नगर्दै फूलमाया उम्किएकी थिइन्। सरकारी वकिलले उनीहरुले बलत्कार नै नगरेपनि प्रयास गरेकाले मतियारको रुपमा मुद्दा दायर गरेको छ।
उनीहरु दुई जनालाई मुख्य अभियुक्तको आधा सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको छ। त्यसैगरी गाउँमा अगुवाको रूपमा शत्रुधन मण्डल, उचितलाल भन्ने उजितलाल मण्डल, झमेली मण्डल, रामजी भन्ने बेचन मण्डल, बंशराज मण्डल, विदेश्वर मण्डल, सत्यनारायण मण्डल, जयकान्त मण्डल, देवु मण्डल र वासुदेव मण्डलले बलात्कारको यस घटनालाई प्रहरीसमक्ष पुग्न रोकेर गाउँमै मिलाउन भूमिका खेलेकाले मतियारको रुपमा मुद्दा दायर गरेको छ।
पीडितलाई समेत जबरजस्ती शत्रुघन मण्डलको घरमा लगेर शारीरिक परीक्षण गर्न जान र प्रहरीमा सूचना दिन जान रोकेका थिए। साथै बलात्कार गरेका दुई जनाबाट २५/२५ हजार रूपैयाँ क्षतिपूर्ति तिराउने निर्णय गरेका थिए। भदौ ३० गते राति साढे दुई बजेतिर पीडित फूलमायाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।
सरकारी वकीलको कार्यालयले यी १० जनालाई आत्महत्या दुरूत्साहन र अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेको अभियोग लगाएको छ। उनीहरूलाई आत्महत्या दुरूत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना माग गरिएको छ। त्यस्तै अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेकोमा थप २ वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना उनीहरुलाई हुनुपर्ने माग अभियोगपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।