काठमाडौं– केन्द्रीय समितिका केही सदस्यलाई कोरोना संक्रमण देखिएपछि कांग्रेस विवाद अन्त्यको संवाद प्रक्रिया अवरुद्ध हुन पुगेको छ।
पार्टीको विवाद अन्त्य गरि महाधिवेशन केन्द्रित हुने गरि डाकिएको केन्द्रीय समितिलाई स्थगित गरि आइतबार (असोज २५) लाई सारिएको छ। गत शनिबार केन्द्रीय कार्यालयमा तीनै पक्षका नेताबीच विवाद अन्त्यका लागि बैठक बसेको थियो। शनिबारको बैठक सहमतिमा पुग्न नसकेपछि गत आइतबार बस्ने गरि टुंगिएको थियो। तर, शनिबार साँझ संक्रमणको नतिजा आएसँगै आइतबारको बैठक बस्न सकेन। आगामी आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि शीर्ष तहका नेताबीच पुनः संवाद हुनेबारे यकिन नभएको बताइएको छ।
विभाग गठन र विस्तार, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, मनोनित केन्द्रीय सदस्य लगायतमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ।
गत शनिबारको बैठक पौडेल पक्षले उठाएका विषयमा केन्द्रित भएको थियो। विधानविपरीत भएका निर्णय रद्ध गर्नुपर्ने पौडेल पक्षले माग गरेको छ। पौडेल पक्षले केन्द्रीय कार्यालयमा पेश गरेको १९ बुँदे विरोधपत्रको सेरोफेरोमा रहेर समस्या हलको माग गरेको छ। तर,संस्थापन पक्षले पूर्व निर्णयबाट पछि हट्ने संकेत देखाएको छैन।
कोरोना र आन्तरिक विवादले फागुनमा तोकिएको महाधिवेशन समयमै हुने अवस्था देखिएको छैन। भदाै मसान्तसम्म सकिनुपर्ने क्रियाशील सदस्यता वितरणको कार्य सबै जिल्लामा बाँकी छ। त्यसअघि नै सकिनुपर्ने संगठन समायोजनको काम करिब दर्जन जिल्लामा सम्पन्न हुन सकेको छैन। मुख्यतः प्रदेश २ का जिल्लामा संगठन समायोजन हुन सकेको छैन।
समायोजन सकेर केन्द्रमा नामावली पठाएका केही जिल्लामा समेत विवाद छ। काभ्रे,सिन्धुपाल्चोक र संखुवासभामा जिल्लाले पठाएको नामावलीमा केन्द्रले विवाद रहेको भन्दै क्रियाशील सदस्यता वितरण हुन नसेकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।