काठमाडौं- कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा मागपत्रसहित कालो तुल टाँगेको छ ।
१२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले कालो तुल टाँगेको हो। नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दबाव दिन आन्दोलनमा उत्रनुको विकल्प नरहेको महासचिव विष्टले बताए।
उनले भने, 'श्रमजीवीको हकहितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन, परी आए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ।'
विगतमा सञ्चार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा बन्द गर्न पाइन्न भन्ने रहे पनि अहिले सूचना पाउने अन्य धेरै माध्यम भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने उनले बताए।' (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।