काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिनेमध्ये ५ लाख २१ हजार जनाकाे हात खाली भएको छ।
कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने ७ लाख ९४ हजार आवेदकमध्ये दुई लाख ७३ हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। मंगलबार भएको बाँडफाँटमा सर्वसाधारणतर्फ दुई लाख ७३ हजार जना, कर्मचारीतर्फ एक लाख २० हजार र म्युचुअल फण्डले एक लाख ५० हजार कित्ता प्राप्त गरेका छन्।
कम्पनीले असोज ११ गतेदेखि १६ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो। उक्त शेयरमा ७.५६ गुणा बढी आवेदन परेको थियो। प्राथमिक शेयर प्राप्त गर्ने लगानीकर्ताले केही दिनमा दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्।
यसका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकरण गर्नु पर्ने हुन्छ। कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।