काठमाडौँ- नेपाली कांग्रेसका १० नेताले दाङ प्रदेश ५ को राजधानी उपयुक्त भएको बताएका छन्। दाङ र त्यसबाट पश्चिमबाट पार्टी केन्द्र र जिल्लामा नेतृत्व गर्ने १० जनाले संयुक्त वक्तव्य निकाल्दै सरकारी निर्णयको स्वागत गरेका छन्।
‘हामीले शुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश ५ सरकारप्रति आभार व्यक्त गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।
१० नेताको काठमाडौँमा भएको भेलाले सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत उपयुक्त स्थान दाङको भालुवाङलाई नै रहेको ठहर गरेको छ। सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक श्रोतको न्यायिक वितरण, जनमतको कदर, संघीयताको मर्म र भावना अनुसार भालुवाङ उपयुक्त भएको जनाइएको छ।
प्रदेश राजधानीको विषयलाई राजनीतिक दल तथा नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाउन आग्रह गरिएको छ। जनतालाई उत्तेजित बनाउने कार्य नगराउन आग्रह समेत गरिएको छ।
प्रस्तावित राजधानीमा समर्थन जनाउनेमा केन्द्रीय सदस्य दीपक गिरी, किशोर सिंह राठौर,पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे छन्। साथै, बर्दिया र रोल्पाका जिल्ला सभापति क्रमशः सञ्जय गौतम र अमर सिंह पुन भालुवाङको पक्षमा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।