काठमाडौं– कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले जानकारी दिए ।
विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिलाई आग्रह गर्ने कुरा हुन्छ । कार्यवाहक सभापति आफैंले बोलाउनु भएन भने महामन्त्रीहरूले विधानको पालना गर्न र गराउन बोलाउनुपर्ने बाध्यता हुन्,' उनले भने ।
यससम्बन्धी औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । विशेष बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् ।
पार्टी विधानमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यता बनेको अर्का नेता बलदेव तिमिल्सिेनाले बताए ।
विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका समेत ल्याइएको थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।